Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मुटुको शल्यक्रिया र कलेजो प्रत्यारोपणका लागि केन्द्र तयारीमा

$
0
0

भक्तपुर, १० माघ । मानव अङ्ग प्रत्यारोपण केन्द्रले मिर्गौलाबाहेक अन्य अङ्गको शल्यक्रिया एवम् प्रत्यारोपण गराउने कार्यको तयारी गरेको छ ।

व्यवस्थापिका–संसद्बाट मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, २०७२ शुक्रबार पारित भएपछि केन्द्रले अन्य त्यस्ता अङ्गको प्रत्यारोपणको तयारी गरेको हो ।

Heart transplantआइतबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौलाको सफल प्रत्यारोपण गर्दै आएको केन्द्रले कलेजोको प्रत्यारोपण गर्न सक्ने गरी पूर्ण तयारीमा रहेको जानकारी दिए ।

कलेजो प्रत्यारोपणका लागि मुटुको शल्यक्रिया सेवा सञ्चालन गर्नु आवश्यक रहेको बताउँदै निर्देशक डा. श्रेष्ठले भने, ‘आगामी तीन महिनाभित्र मुटुको शल्यक्रिया एवम् भल्ब फेर्ने सेवा सुरु गर्ने तयारीमा लागेका छौँ, यसका लागि भौतिक पूर्वाधार र प्रविधिको पनि तयारी गरिएको छ ।’

तत्काल मुटुको शल्यक्रियासँगै कलेजो र फोक्सो प्रत्यारोपण गर्नसक्ने गरी तयारी गरेको उनको भनाइ थियो । उनले हरेक वर्ष तीन हजारको मिर्गौला फेल हुने र त्यसमध्ये कानुनको अभाव र गरिबीका कारण उपचार नपाएर ९० प्रतिशत बिरामीको ज्यान जाने गरेकामा अब त्यो समस्या नआउने उनको भनाइ थियो ।

दुर्घटनाबाट दिनको चार जना र काठमाडौंमा मात्रै वर्षमा एक हजारको मस्तिष्क मृत्यु हुने गरेकामा अब पारित विधेयक लालमोहर लागेलगत्तै मस्तिष्क मृत्यु भएका एक व्यक्तिको दुईवटा मिर्गौला, दुई वटा फोक्सो, एक मुटु, एक कलेजो, एक वटा प्याङ्क्रियाज, एक वटा सानो आन्द्रा गरी कम्तीमा आठ वटा ठूला अङ्ग झिक्न सकिने उनले बताए ।

मस्तिष्क मृत्यु भएको एक जनाबाट झिकेको अङ्गले कम्तीमा आठ जना बिरामी बचाउन सकिने उनको भनाइ थियो । वर्षमा एक हजार मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकेको मिर्गौलाबाट दुई हजार मिर्गौलाका बिरामी बचाउन सकिने भएकाले अब यसका लागि विदेश जानु नपर्ने उनको कथन थियो ।

संसद्ले बनाएको मानव शरीरको अङ्ग प्रत्यारोपण ऐनले शल्यचिकित्सकले मस्तिष्क मृत्युको घोषणा गर्ने काममा र मस्तिष्क मृत्युको घोषणा गर्ने चिकित्सक अङ्ग प्रत्यारोपण गर्ने काममा संलग्न हुन नपाउने व्यवस्था गरेको छ । मृतकले आफू जीवित छँदै आफ्नो शरीरको अङ्ग दान नगर्ने लिखित इच्छा व्यक्त गरे त्यस्तो व्यक्तिको अङ्ग झिक्न नपाउने व्यवस्था गरेको छ ।

मस्तिष्क मृत्यु घोषणा भएका मानिसको अङ्ग झिक्ने, झिकिएका अङ्गलार्ई सुरक्षित रुपमा राख्ने, अङ्ग प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको अभिलेख राखेरे प्राथमिकता आधारमा क्रमागत रुपमा प्रत्यारोपण गर्ने व्यवस्था गर्दै सरकारले समन्वयका लागि मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले गर्ने जिम्मेवारी तोकेको छ ।

अस्पताल वा स्वास्थ्य केन्द्रले व्यक्तिको मस्तिष्क मृत्युको घोषण गरेमा समन्वय एकाइलाई तुरुन्त जानकारी गराउनुपर्ने, मृत्युको घोषणा गर्ने सम्बन्धित अस्पताल वा स्वास्थ्य केन्द्रले समन्वय एकाइलाई अङ्ग झिक्ने व्यवस्थाका लागि आवश्यक पर्ने भौतिक सुविधा तथा जनशक्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

मस्तिष्क मृत्यु भएको घोषणा गर्ने अस्पताल, अङ्ग प्रत्यारोपण गर्ने अस्पताल र मस्तिष्क मृत्युको घोषणा भएको व्यक्तिको परिवारका सदस्यलाई सरकारले निश्चित रकम दिने व्यवस्था गरेको छ ।

अङ्ग दान गर्न पत्नी, छोराछोरी, धर्मपुत्र वा धर्मपुत्री, बाबुआमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबुआमा, सौतेनी बाबुआमा, बाजैबज्यै, नातिनातिनी, दाजुभाइ, दिदीबहिनी, ठूलो बाबुआमा, काकाकाकी, साना बाआमा, भतिजाभतिजी, सासूससुरा, जेठाजुजेठानी, देउरानी, नन्द, देवरभाउजू, बुहारी, मामा माइज्यू, भान्जाभान्जी, सालासाली फुपूफूपाजु, आमाजू्लगायतले मुख्य मानव अङ्ग प्रत्यारोपण गर्न सक्ने ऐनले व्यवस्था गरेको छ । रासस

The post मुटुको शल्यक्रिया र कलेजो प्रत्यारोपणका लागि केन्द्र तयारीमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles