एजेन्सी, १९ साउन । विश्वलाई कोरोना महामारीले त्राहिमाम बनाइरहेको छ । कोरोनाविरुद्ध उपचारको लागि सयौं प्रयासहरू विश्वव्यापीरुपमा समानान्तररुपमा चलिरहेका छन् ।
यो प्रतिस्पर्धामा रुस सबैभन्दा अगाडि देखिएको छ । रुसले कोरोनाविरुद्धको खोपलाई सर्वसाधारणको लागि प्रयोगका लागि उत्पादन गर्न अनुमति दिएको छ ।
संसारको पहिलो कोरोना भ्याक्सिन मस्कोको गामेल्या इन्स्टिच्यूट अफ इपिडेमियोलोजी र माइक्रोबायोलोजीमा तयार गरिएको हो ।
रुसमा भ्याक्सिन विकास गर्ने काम गोप्यरुपमा गरिएको दावी गरिएको छ । अन्य देशहरुले कोरोनाविरुद्ध खोपको विकासका हरेक चरणहरु र सफलता-असफलताबारे जानकारी दिइरहेका छन् ।
गोप्यरुपमा खोपको विकास गरिरहेको रुसमा गत जुनमा खोपको मानव परीक्षण गरिएको थियो ।
स्पूतनिकमा प्रकाशित रिपोर्टका अनुसार मस्कोको ल्याबमा दुई फरक-फरक तरिकाबाट खोपको प्रयोग सुरु गरिएको थियो । औषधिलाई तरल र धुलो दुवै अवस्थामा प्रयोगमा ल्याइएको हो ।
सुरुवाती परीक्षणमा दुई समूह बनाइएको थियो, जहाँ प्रत्येक समूहमा ३८ जना सहभागी थिए ।
यीमध्ये केहीलाई खोप लगाइयो, जबकि केहीलाई प्लासिबो इफेक्टको रुपमा राखियो । यसको अर्थ उनीहरुलाई सामान्य वस्तु दिएर उपचार जारी छ भनेर सन्देश दिइयो र साँच्चै औषधि गरिरहेको जस्तो अनुभूति दिलाइयो ।
सुरुवाती परीक्षणको सफलतापछि रुसले सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफमा परीक्षण गर्यो । त्यहाँबाट खोप मानवका लागि सुरक्षित रहेको निष्कर्ष निकालियो ।
उता अमेरिका र बेलायतले पनि रुसले सूचनाको चोरी गरेको आरोप लगाउँदै आएका छन् । तर यो आरोप आधारहिन भएको पुष्टि भएको छ । किनभने रुसले अरुले भन्दा अगाडि खोपको विकास गरेर देखाएको छ ।
अर्को आरोप रुसले परीक्षण पूरा नगर्दै मानवमाथि प्रयोग गर्न अनुमति दिएको भनेर लगाइएको छ । तर रुसले भने दुवै परीक्षण सफलतापूर्वक गरिसकिएको स्पष्ट पारेको छ ।
ब्लूमबर्गको रिपोर्टका अनुसार १०-१२ अगष्टसम्म खोपलाई सूचिकृत गरिनेछ । यसपछि यो संसारभर प्रयोगमा ल्याउन सकिन्छ । स्वीकृति पाएसँगै रुसले हप्ताभरीमा रुसलाई पुग्ने औषधि तयार बनाउनेछ ।
हर्ड इम्युनिटीका लागि रुसले ४ देखि ५ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने अनुमान गरिएको छ । एकसाथ सबैलाई खोप लगाउन नसकिने भएकोले रुसले प्राथमिकताअनुसार खोप लगाउने रणनीति बनाएको छ ।
उता, कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकाले रुसबाट खोप लिन अस्वीकार गरेको छ । अमेरिकाले चीन र रुसमाथि पारदर्शिताको प्रश्न उठाउँदै खोप किन्न अस्वीकार गरेको हो ।
The post अन्ततः रुसले बनाइछाड्यो कोरोनाविरुद्ध पहिलो खोप, अमेरिकाले नकिन्ने appeared first on Sajha Post.