Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

हाइड्रोसिल भयो ? चिन्ता नगर्नुहोस्, अब वीर अस्पतालमा हुन्छ निःशुल्क शल्यक्रिया

$
0
0

कल्पना पौडेल/काठमाडौँ, ९ माघ । सरकारले हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु) को निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रमअनुसार वीर अस्पतालमा हालसम्म १५ जनाले शल्यक्रिया गराएका छन् ।

यही पुस १ गतेदेखि सुरु भएको निःशुल्क शल्यक्रिया सेवा असारमसान्तसम्म चल्ने वीर अस्पतालका सामाजिक सेवा एकाइ/समन्वय शाखा प्रमुख टीकाराम पनेरुले जानकारी दिए ।

प्रमुख पनेरुले भने, ‘बजेट ढिला आएका कारण गत वर्ष १४ जनाको मात्र शल्यक्रिया भएको र यो आर्थिक वर्षको असार मसान्तसम्म २४४ जनाको शल्यक्रिया गर्ने योजना रहेको छ ।’ सरकारले प्रत्येक अस्पताललाई एकजना बिरामीको शल्यक्रिया गरेबापत पाँच हजार ५०० सय उपलब्ध गराएको छ ।

उहाँले धेरै बिरामीलाई निःशुल्क शल्यक्रिया हुने जानकारी नभएर र कतिले लुकाएर राख्ने भएकाले अस्पतालसम्म नआइपुगेको बताउनुभयो । सरकारले चालु आर्थिक वर्षमा सात हजार ९८३ हजार हाइड्रोसिलका बिरामीको शल्यक्रिया गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष देशभरका सरकारी अस्पतालबाट करिब सातहजार ९८३ हाइड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखेको छ ।

त्यसका लागि देशभरका ६० अस्पतालबाट शल्यक्रिया गर्ने प्रबन्ध मिलाइएको छ । नेपालमा करिब एक लाख हाइड्रोसिलका बिरामी रहेको अनुमान छ । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो ।

महाशाखाको हात्तीपाइले रोग निवारण अभियानका केन्द्रीय ‘फोकल पर्सन’ तुलसी अधिकारीका अनुसार गत आर्थिक वर्ष २०७२/७३ मा नौ हजार ५८४ बिरामीको शल्यक्रिया गर्ने लक्ष्य राखिएको भएपनि दुई हजार ५०० बिरामीको शल्यक्रिया गरिएको थियो भने सोभन्दा अघिल्लो वर्ष ६६७ जनाले शल्यक्रिया गराएका थिए । गत आवमा देशभरका ७१ अस्पतालबाट शल्यक्रिया गरिएको भए पनि केही अस्पतालले निरन्तरता दिन नसक्ने बताएपछि ६० अस्पतालमा शल्यक्रिया हुने भएको अधिकारीले बताए ।

जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया) भएको हुन सक्छ । साथै, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुन सक्छ ।

नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजिवीको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्युलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।

विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ६१ जिल्लामा सङ्क्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि आम औषधि सेवन गराउने कार्य सुरु गरेको छ ।

सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको छ । रासस

The post हाइड्रोसिल भयो ? चिन्ता नगर्नुहोस्, अब वीर अस्पतालमा हुन्छ निःशुल्क शल्यक्रिया appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles