Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

स्वास्थ्य संकटमा अनुभवी स्वास्थ्यकर्मी लखेटेर ‘आफ्ना मान्छे’नियुक्त गर्दै ट्रमा सेन्टर

$
0
0

काठमाडौं, २२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले असार १ गते निजी स्वास्थ्य संस्थाहरुलाई भने कोरोना महामारीको बेला चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल गिर्नेगरी काम नगर्ने निर्देशन जारी गर्‍यो ।

उक्त निर्देशनमा महामारीको बेला तलब भत्ता कट्टा गर्ने, करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जागिरबाट बर्खास्त गर्नेजस्ता अमानवीय गतिविधि नगर्न भनिएको छ । उक्त सर्कुलर जेठ २९ गते गरिएको सचिवस्तरीय निर्णयअनुसार गरिएको हो ।

निजी स्वास्थ्य संस्थालाई यस्तो सर्कुलर गर्ने स्वास्थ्य मन्त्रालय सरकारी अस्पतालमा भने धमाधम पुराना र अनुभवी स्वास्थ्यकर्मीलाई हटाएर आफ्ना मान्छेलाई नियुक्त गर्ने अभियान सुरु गरिएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा लामो समयदेखि फिजियोथेरापीमा काम गरेका ५ जना चिकित्सक र ५ वर्षदेखि करारमा कार्यरत केही नर्सहरुलाई सिधै मन्त्रीको आदेशमा निकाल्ने तयारी गरिएको छ । स्वास्थ्य संकटको बेला अनुभवी स्वास्थ्यकर्मी र कर्मचारी निकालेर आफ्ना मान्छेलाई भर्ती गर्न मन्त्री भानुभक्त ढकालले आदेश दिएको ट्रमा सेन्टरका अधिकारीहरु बताउँछन् ।

‘हामीलाई बोल्न गाह्रो छ, निर्देशन मान्नै पर्ने अवस्थामा छौं,’ ट्रमाका एक अधिकारीले नाम नखुलाउने शर्तमा भने, ‘आफ्नो पार्टीमा संगठित हुन नमान्ने अनुभवी चिकित्सक र स्वास्थ्यकर्मीलाई हटाएर आफ्ना मानिसहरु भर्ती गर्न भनिएको छ ।’

फिजियोथेरापिस्टहरु मात्र होइन, त्यहाँ स्टाफ नर्सहरु पनि निकालिँदैछ । ‘एकातिरबाट अनुभवी र पुरानालाई निकाल्ने र अर्कोतिर नयाँ भर्ती गर्ने काम भइरहेको छ,’ त्यहाँ कार्यरत एक स्टाफ नर्स भन्छिन्, ‘२५ जना स्टाफ नर्स २० फागुनमा ट्रमा सेन्टरले खुला प्रतिस्पर्धाबाट मागेको रहेछ । जसको आवदेन झण्डै १२ सय बढीले भरेका थिए ।’

२० फागुनमा माग भएका नर्सहरुको बारेमा ट्रमाले अर्को सूचना १९ असारमा प्रकाशित गरेको छ । उक्त सूचनामा प्राप्ताङ्क, कार्यअनुभव र शैक्षिक योग्यताको आधारमा सर्टलिस्ट तयार पारेको बताएको छ ।

कोरोनाको बहाना बनाएर परीक्षा नलिई १ सय ७७ जनालाई पहुँचको आधारमा सर्टलिस्ट निकालिएको छ । अपारदर्शी गतिविधि भएपछि शनिबारबाट त्यहाँ कार्यरत स्टाफनर्सहरुले चरणवद्ध आन्दोलन सुरु गरेका छन् ।

परीक्षा नै नलिई पहुँचको आधारमा अपारदर्शी ढंगले नाम निकालिएको र कति प्रतिशतसम्म अंक ल्याएकालाई प्राथमिकतामा राख्ने भन्नेबारे कुनै उल्लेख नभएको आन्दोलनकारीको भनाई छ ।

‘एकातिर पुराना अनुभवीलाई पार्टी सदस्यता नलिएको आधारमा हटाउने र अर्कोतिर राम्रोलाई भन्दा हाम्रोलाई राख्न अपारदर्शी ढंगले सर्टलिस्ट गर्ने काम सहन सकिने विषय होइन,’ एक आन्दोलनकारीले बताइन् ।

यता विरोधका कार्यक्रम चलिरहँदा ट्रमा सेन्टरले सोमबारबाट सर्ट लिस्टमा परेकाहरुको अन्तवार्ताका लागि बोलाएको छ । उनीहरुलाई मोबाइल एसएमएसमार्फत अन्तवार्ताका लागि बोलाइएको सूचना ट्रमा सेन्टरले जारी गरेको हो ।

ट्रमा सेन्टरका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘माथिबाट सिधै नामको सूचि आयो, हामी प्रकाशन गर्न बाध्य भयौं ।’ उनले आफ्नो जागिर धरापमा पर्ने भन्दै नाम उल्लेख नगर्न अनुनय विनय गरे ।

यता अस्पताल प्रशासनले भने मन्त्रालयले भनेको अनुसार आफूहरुले गरेको स्पष्ट पारे ।

 

 

The post स्वास्थ्य संकटमा अनुभवी स्वास्थ्यकर्मी लखेटेर ‘आफ्ना मान्छे’ नियुक्त गर्दै ट्रमा सेन्टर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles