काठमाडौं, २८ जेठ । नेपालमा थप २७९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ २७९ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पुरुष २५७ र महिला २२ जनामा सङ्क्रमण देखिएको हो । कुल संक्रमित चार हजार ३६४ मध्ये पुरुष चार हजार ५५ र महिला ३०९ जना छन् ।
बुधबारसम्म अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६७४ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । तीमध्ये ५९५ पुरुष र ७९ महिला छन् । बुधबारसम्म १ लाख १० हजार ७४४ पिसिआर परीक्षण गरिएको र १ लाख ७२ हजार ८८० आरडिटी परीक्षण गरेको उनले जानकारी दिए ।
बुधबारसम्म १ लाख ७२ हजार २६६ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ६७५ जना आइसोलेसनमा रहेका छन् । बुधबारसम्म नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण भेटिएको प्रवक्ता गौतमले जानकारी दिए ।
बुधबार कोभिड १९ को सङक्रमणबाट ९० जना निको भएका छन् । विभिन्न अस्पतालमा ८८ पुरुष र दुई महिला पूर्णरुपमा निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार कोशी अस्पतालबाट एक महिला र पाँच पुरुष, सशस्त्र प्रहरीको बलम्बु अस्पतालबाट एक महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक पुरुष, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ पुरुष, सप्तरीको महेन्द्र गेनाई आइसोलेसनबाट २० पुरुष, कोरोना अस्पताल दाङबाट सात पुरुष छन् ।
The post २७९ नयाँ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो appeared first on Sajha Post.