बीबीसी, ९ वैशाख । उच्च वायु प्रदूषणले कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुनसक्ने सम्भावना बढाउन सक्ने दुई वटा अध्ययनले देखाएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनकी डा. मारिया नेइराले बीबीसीलाई बताए अनुसार वायु प्रदूषणको उच्च रहेका ल्याटिन अमेरिकी, अफ्रिकी र एशियाली मुलुकहरूले त्यसबाट बच्न तयारी बढाउन आवश्यक छ।
तर स्वास्थ्य अधिकारीहरूले भने ती दुईबीचको सम्बन्ध स्थापित गरिहाल्न हतार गर्न नहुने बताउँछन्। एउटा अमेरिकी अध्ययनले महामारीभन्दा पहिलेका वर्षहरूमा सूक्ष्म कण प्रदूषण स्तरमा सामान्य वृद्धि हुँदा कोरोनाभाइरस सङ्क्रमणका कारण हुने मृत्युदर १५ प्रतिशतले बढ्ने उल्लेख गरेको छ।
कोभिड १९ का कारण हुने मृत्युदर सामान्यतया उच्च जनघनत्व र उच्च पीएम २.५ भएका क्षेत्रहरूको उस्तै हुने हार्वार्ड विश्वविद्यालयको एउटा अध्ययनले जनाएको छ ।
यी कणहरू पहिले पनि श्वासप्रश्वासमा हुने सङ्क्रमण र फोक्सोको क्यान्सर जस्ता स्वास्थ्यसँग सम्बन्धित समस्याहरूसँग जोडिएका छन्।
इटलीस्थित युनिभर्सिटी अफ सिएना र डेनमार्कस्थित ओरहुस विश्वविद्यालयमा गरिएको अर्को अध्ययनले उत्तरी इटलीमा वायु प्रदूषणको उच्च दर र कोभिड १९ का कारण भएका मृत्युबीच सम्बन्ध रहेको सङ्केत गरेको छ।
इटलीको लोम्बार्डी र अमिलिया रोमानिया क्षेत्रमा मृत्युदर करिब १२ प्रतिशत छ। इटलीको अन्य भागमा भने मृत्युदर ४.५ प्रतिशत छ।
साइन्स डाइरेक्टमा प्रकाशित अध्ययनले उत्तरी इटलीको उच्च वायु प्रदूषण दरलाई उक्त क्षेत्रमा देखिएको उच्च मृत्युदरको सहायक कारक मान्नु पर्ने बताएको छ ।
मृत्युदर हेर्दा जनसङ्ख्या, उमेर, फरकफरक किसिमको स्वास्थ्य प्रणाली र उक्त क्षेत्रहरूका रोकथामसम्बन्धी फरक नीतिहरूलाई समेत ध्यानमा राख्नु पर्छ।
यसैबीच फिलिपिन्समा एसोसिएसन अफ रेस्पिरेटरी केयर प्र्याक्टीसनर्स सेसार बुगाओइसानले प्रारम्भिक तथ्याङ्कले फिलिपिन्समा कोरोनाभाइरसका कारण मृत्यु भएका प्रायः सबै व्यक्तिहरूमा पहिलेदेखि नै कुनै किसिमका समस्या भएको र तीमध्ये सबैभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित समस्या रहेको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणबाट हरेक वर्ष करिब ७० लाख मानिसहरूको मृत्यु हुन्छ। र पृथ्वीको ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या तोकिएको मापदण्डभन्दा बढी वायु प्रदूषण भएका स्थानहरूमा बस्छन्।
विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रतिवेदनका अनुसार चिले, ब्राजिल, मेक्सिको र पेरूका सहरहरूमा वायु प्रदूषणको स्तर खतरनाक छ।
The post उच्च वायु प्रदूषणले कोरोनाबाट मृत्यु हुनसक्ने सम्भावना बढाउने यी दुई अध्ययनकाे दाबी appeared first on Sajha Post.