क्यान्सर एउटा गम्भीर र खतरनाक रोग हो तर यसका लक्षणहरुलाई बेलैमा पहिचान गर्न सकियो भने केही हदसम्म यसलाई निको पार्न सकिन्छ । लक्षणहरु देखिन थाले पछि डराउनु हुँदैन किनकी त्यस्ता लक्षणहरु क्यान्सरका नहुन पनि सक्दछन् । त्यसकारण डराउनु भन्दा पनि बेलैमा डाक्टरलाई भेटेर सल्लाह लिनु उपयुक्त हुन्छ ।
शारीरिक पीडा हुनु
तपाईको शरीरको कुनै भाग लगातार दुखिरहन्छ भने यस्तो पीडालाई कुनै पनि हालतमा बेवास्ता गर्नु हुँदैन । यस प्रकारको पीडा क्यान्सरको सुरुको लक्षण पनि हुन सक्छ । विशेषगरी स्तन क्यान्सरका शुरुवाती लक्षणहरु पहिचान गर्न अलि गाह्रो हुन्छ । त्यसैले स्तनको वरिपरि पीडा वा कुनै प्रकारको परिवर्तन देखापर्नासाथ डाक्टरलाई सम्पर्क गर्नुपर्छ ।
बारम्बार ज्वरो आउनु
यदि तपाईलाई बारम्बार ज्वरो आइरहन्छ भने तत्काल डाक्टर कहाँ जानुहोस् र यसको उपचार गर्नुहोस् । क्यान्सर हुँदा कुनै–कुनै चरणमा लामो समयसम्म ज्वरो आउन सक्छ । यसरी लामो समयसम्म ज्वरो त्यति बेला आउँछ, जतिबेला क्यान्सर शरीरको एक भागबाट अर्को भागमा फैलिँदै जान्छ । त्यसैले बारम्बारको ज्वरो मात्रै आउँदा होइन मौसमी ज्वरो आउँदा पनि बेवास्ता गर्नुहुँदैन किनकी यसले पछि समस्या ल्याउन सक्छ ।
शरीरको तौल एक्कासी घट्नु
यदि एक दुई हप्तामा नै तपाईको तौल एक्कासी १० प्रतिशत वा त्यो भन्दा बढी घट्यो भने तत्काल डाक्टरकहाँ गएर जँचाउनुपर्छ । केही काम नगर्दा पनि यसरी तौल घट्नु क्यान्सरको लक्षण हुनसक्छ । त्यस्तै डाइटिङका क्रममा पनि एक्कासी तौल घट्दा पनि तपाईले एकपटक जाँच गराउनु उपयुक्त हुन्छ ।
थकाई
लामो समयसम्म कमजोरी वा थकानको महसुस, छालामा असामान्य परिवर्तन, लामो समयसम्म खोकीको समस्या, केही चीज निल्दा अप्ठ्यारो महसुस आदि समस्याहरु कुनै न कुनै प्रकारको क्यान्सरको लक्षण हुन सक्छ । खैनी र चुरोट सेवन गर्नेहरुले यस्तो अवस्थामा अरुबढी ध्यान दिनुपर्छ । तर कहिलेकाहिं शरीरमा रगतको कमीले गर्दा पनि तपाईलाई थकाई लाग्न सक्छ ।
तनाव
के तपाई प्रायः तनाव र स्ट्रेसमा रहनुहुन्छ, तपाईको दिसाको रङ्ग कालो भइरहेको छ वा पिसावको रङ्ग पनि सधैं कालो वा गाढा पहेलो छ ? त्यसो हो भने तुरुन्त डाक्टरकँहा जानुहोस् । धेरैजसो मानिसहरुले व्यस्त जीवनशैलीका कारण आफू तनावमा रहने बताउने गर्छन् तर लगातार तनाव वा डिप्रेशन कुनै गम्भीर रोगको लक्षण पनि हुन सक्छ । त्यस्तै शरीरमा दाद आइरहनु पनि क्यान्सरको लक्षण हुन सक्छ ।
त्यसकारण, समयमा नै यस्ता लक्षणहरुलाई पहिचान गरी उपचार गर्नुभयो भने क्यान्सरलाई तपाईले जित्न सक्नुहुन्छ ।
The post यी पाँच लक्षण देखा परेको छ ? सावधान ! क्यान्सर हुनसक्छ appeared first on Sajha Post.