सुन्दर देखिने चाहना सबैको हुन्छ । तर, अनुहारमा आउने डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ । सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । त्यस्तै आज हामी तपाईलाई डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपायबारे जानकारी गराउँदैछौं ।
मह
महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने । अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दुधले पनि अनुहार धुन सकिन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो बनाउन मद्दत गर्छ ।
कागतीको रस
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हुन्छ । यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनु उत्तम हुन्छ ।
गोलभेँडा
गोलभेँडामा पाइने तत्व छालाका लागि लाभदायक हुन्छ । गोलभेँडामा पनि कागतीमा जस्तै धेरै फाइदाजनक तत्वहरु पाइने भएकाले यसले डन्डीफोर हटाउन मद्दत गर्छ र छालालाई चम्किलो बनाउँछ । गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउने र आधा घण्टापछि अनुहार चीसो पानीले पखाले डन्डीफोरबाट छुटकारा पाइन्छ ।
ल्वाङ
डन्डीफोरको समस्याबाट राहत पाउन ल्वाङ निकै लाभदायक मानिन्छ । यसका लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई पिस्ने र तयार भएको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने र आधा घण्टापछि अनुहार चिसो पानीले धुनुहोस् ।
बाफ लिने
बाफ लिएर पनि अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्नुहोस् । सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।
The post डन्डीफोर आएर हैरान हुनुहुन्छ भने यसो गर्नुस् appeared first on Sajha Post.