काठमाडौं, ११ पुस । डिप्रेशन विश्वभर नै एउटा भयावह मानसिक समस्याको रुपमा देखा पर्दै गइरहेको छ । आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक कारणले डिप्रेशनको शिकार हुने मानिसको संख्या दिनदिनै बढिरहेको छ ।
युवादेखि प्रौढसम्म सबै डिप्रेशनको शिकार हुने गर्छन् । प्रायः जसो मानिसहरु किशोर अवस्थामा प्रवेश गरेपछि डिप्रेशनको शिकार बन्छन् । अर्थात् किशोरावस्थामा प्रवेश गरेपछि मानिसहरु डिप्रेशनको शिकार भई उनीहरुमा मानसिक तनाव हुन्छ । डिप्रेशनका कारण उनीहरु जीवनमा रमाउन सक्दैनन् ।
पछिल्लो समय बालबालिकामा समेत डिप्रेशनका लक्षण देखिन थालेको विभिन्न अध्ययनले देखाएका छन् ।
हालै गरिएको एक अध्ययनले ७ वर्षदेखि नै बालबालिकाहरुमा डिप्रेशनका लक्षण देखिने निष्कर्ष निकालेको छ । सोही उमेरदेखि नै भविष्यमा उनीहरु के कस्ता मानसिक तथा संवेगात्मक समस्याबाट पीडित हुन सक्छन् भनेर अनुमान समेत गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन् ।
अमेरिकामा गरिएको एक अध्ययनबाट ७ वर्षका बालबालिकाको मस्तिष्क स्क्यान गरेपछि उनीहरु भविष्यमा डिप्रेशनको शिकार हुने वा नहुने भनेर थाहा पाउने सकिने देखिएको हो ।
अनुसन्धानमा ७ वर्षका बालबालिकालाई सामेल गरिएको थियो । ७ देखि ११ वर्षसम्म उनीहरुले देखाएका विभिन्न व्यवहारलाई हेरिएको थियो । अनुसन्धानबाट सात वर्षदेखि बालबालिकामा डिप्रेशनका लक्षण देखिने र ११ वर्षको उमेरमा डिप्रेशनको शिकार बन्न सक्ने पुष्टि भएको थियो ।
अध्ययनका क्रममा ७ वर्षमुनिका १०० जना बालबालिकाहरुको मस्तिष्क एमआरआईबाट स्क्यान गरिएको थियो । जसमध्ये ९४ जना बालबालिकामा निर्णय निर्माण र मानसिक अवस्थालाई निर्धारण गर्ने मस्तिष्कका २ वटा भागबीच त्यति सम्बन्ध नरहेको देखिएको थियो ।
मस्तिष्कका दुबै भागमा उच्च मात्रामा रक्त सञ्चार हुने भएकाले कोषसमेत एकअर्कासँग अन्तर्क्रिया गर्ने र यस्तो अवस्थामा बालबालिकाहरुले आफ्नो भावनालाई राम्रोसँग व्यवस्थापन गर्न सकिने देखिएको थियो ।
चार वर्षको अवधिमा बालबालिकाले देखाएका क्रियाकलापलाई मापन गर्न बोस्टनस्थित नर्थ इस्टर्न युनिभर्सिटीका अनुसन्धानकर्ताले बालबालिकाका बाबुआमासँग समेत कुराकानी गरेका थिए ।
अनुसन्धानकर्ताले साथीभाइ, परिवारसँग घुलमेल हुन नचाहने बालबालिकाको बानी, तनाव र थकान जस्ता शारीरिक लक्षणलाई छुट्टाछुट्टै मापन गरेका थिए ।
जामा साइकियाट्री नामक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार ४ वर्षको अवधिमा ५ जना बालबालिकामध्ये १ जनामा डिप्रेशनका संकेत देखिएका थिए । अर्थात् २० प्रतिशत बालबालिकाहरुले ७ वर्षदेखि नै डिप्रेशनका लक्षण देखाएका थिए ।
The post ‘सात वर्षदेखि नै बालबालिकामा डिप्रेशनका लक्षण देखिन्छन्’ appeared first on Sajha Post.