काठमाडौँ, २६ साउन । जिल्लाको पूर्वी क्षेत्रमा रहेको अरुण गाउँपालिका–५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ । वडा क्षेत्रभित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसूति गराएकाले एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको हो ।
साविकको याकु गाविस रहेको यस वडाको सामुदायिक भवनमा आयोजित कार्यक्रमबीच पूर्वसंविधानसभाका सदस्य लोकमणि ढकालले प्रदेश नं १ मै पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरेका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा ६१ महिलाले स्वास्थ्य संस्थामा आएर सुत्केरी गराएको याकु स्वास्थ्यचौकीका प्रमुख भोजराज भण्डारीले बताए । त्यसमा ५ नं वडाभित्रका मात्र ३७ गर्भवतीमध्ये ३६ जनाले यही स्वास्थ्य संस्था र बाँकी एक जनाले धनकुटा अस्पतालमा गएर प्रसूति गराएका थिए ।
कार्यक्रममा अरुण गाउँपालिका प्रमुख गजेन्द्रबहादुर कार्की, उपप्रमुख बिनिता ढकाल, महिला स्वास्थ्य स्वंसेविकालगायत सरोकारवालाको उपस्थिति थियो । प्रमुख कार्कीले गाउँपालिका क्षेत्रका महिला तथा बच्चाको स्वास्थ्य सुरक्षाका लागि आफूहरुले विशेष योजना बनाएर काम गर्ने बताए। गाउँपालिकाले आफ्नो क्षेत्रमा सुत्केरीलाई कुखुराको भाले, चामल, ज्वानो, केही रकमसहितको प्याकेज पनि दिँदै आएको छ ।
दक्ष जनशक्ति, भौतिकलगायतका उपचारका चाहिने सामग्री उपलब्ध भएका कारण विगत १० वर्षदेखि भोजपुरको याकुस्थित स्वास्थ्य संस्था जिल्लामै नमूना स्वास्थ्य संस्थाको रूपमा परिचित छ । यसले पटक–पटक जनताको स्वास्थ्य उपचारमा राम्रो काम गरेको भन्दै पुरस्कारसमेत पाएको छ ।
The post पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषित appeared first on Sajha Post.