![](http://www.sajhapost.com/wp-content/uploads/2017/08/Mukti-Gautam-239x300.jpg)
आज अनुभव र शैक्षिक योग्यता नपुगेर
अन्तर्वार्ताबाट म फालिएँ नि कमरेड,
मेरो बन्दुक बोकेको अनुभव
युद्ध लडेको अनुभव
दुस्मनहरूको घेरा तोडेको अनुभव
केहि काम लागेन आज,
जुन हजुरलाई बैरीको मुखबाट जोगाउन
काम आएको थियो एक दिन ।
()
सकिनसकी घोकेको मार्क्सवाद
दुस्मनहरूबाट लुकी-लुकी
लालटिनको मधुरो उज्यालोमा पढेको माओवाद
वर्ग सङ्घर्ष
“रेडबुक”
तपाईंको “पथ”
केहि काम लागेन आज,
जुन योग्यता सङ्गठन गर्न
आधार ईलाका बनाउन
चुनाव जिताउन
र हजुरलाई यो कुर्सी पाउन काम आएको थियो एक दिन ।
()
मेरो भाइ मारियो युद्धमा
ऊ योग्य भयो
मेरो घर जल्यो
हिजो मेरो घर जल्न योग्य ठहरियो
लड्दा र मर्दा
दुःख झेल्दा
पीडा निल्दा मात्रै हामी योग्य कमरेड?
सुखमा हजुरका आफन्तहरू योग्य
हजुरको विवेक योग्य, आहा!
म फेरि
अन्तर्वार्तामा फेल भएँ कमरेड ।
()
हजुरलाई छानी छानी, रोजी रोजी
मन्त्रालय चहार्न पुग्ने उही अनुभव
उही योग्यता
हजुरको मन्त्रालय अन्तर्गतको एउटा सानो जागिरमा पनि
मेरो काम आएन आज कमरेड,
मेसो नै पाईन मैले को कसरी पास भयो
र म
पहिला झैँ फेरि अर्को पटक
अन्तर्वार्तामा फेल भएँ कमरेड ।
() ()
जनवरी २४, २०१९
टिमिन्स, क्यानडा
The post अन्तर्वार्ताबाट म फालिएँ नि कमरेड ! appeared first on Sajha Post.