Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मुसामा सफल भएपछि मान्छेमा हृदयघात घटाउने खोपको परिक्षण

$
0
0

काठमाडौं, ६ असार । कोलेस्ट्रोल घटाएर हृदयघात नियन्त्रणमा सघाउन सक्ने ठानिएको खोपको परीक्षण मानवमा शुरू गरिएको वैज्ञानिकहरूले बताएका छन् ।
द नेदरलण्ड्सका अनुसन्धानकर्ताहरूले शुरूमा मुसामा गरेको परीक्षणका क्रममा उक्त खोपले धमनीहरूमा चिल्लो पदार्थ जम्मा हुनबाट रोकेको पाइएको थियो ।
उक्त खोपले शरीरको प्रतिरोधी प्रणालीमार्फत रगतबाट खराब कोलेस्ट्रोललाई हटाउने बताइएको छ ।
वैज्ञानिकहरूले विश्वमा दशौं लाख मानिसले सेवन गरिरहेको कोलेस्ट्रोलको औषधिको विकल्प उक्त खोप हुनसक्ने भन्दै अहिले शुरू भएको परीक्षण सकिन करिब ६ वर्ष लाग्ने जनाएका छन् ।
मेडिकल युनिभर्सिटी अफ भियनाका अनुसन्धानकर्ताले ७२ जना स्वयंसेवकमा उक्त प्रारम्भिक परीक्षण शुरू गरेका हुन् ।
उक्त खोपले चिल्ला पदार्थहरूलाई धमनीमा जम्मा हुनबाट रोक्ने र त्यसबाट हृदयघात जस्ता रोगहरू समेत नियन्त्रणमा मद्दत पुग्ने ठानिएको छ ।
युरोपियन हार्ट जर्नलमा प्रकाशित लेख अनुसार वर्षौंको परीक्षणपछि मात्र यो खोप मानव प्रयोगका लागि सुरक्षित र प्रभावकारी हुने या नहुने भन्ने निक्र्यौल गर्न सकिनेछ ।
उनीहरू भन्छन्, ‘यदि ६ वर्षमा यो खोप उपलब्ध भयो भने मानिसहरूले यसलाई व्यायामको विकल्पको रूपमा लिनुहुँदैन र एकदमै चिल्लो पदार्थ पाइने खानेकुरा बढी सेवन गर्नु पनि हुँदैन ।’
यस खोपले शरीरको रोग प्रतिरोगी प्रणालीलाई ‘पिसिएसकेनाइन’ नामक प्रोटिनमाथि आक्रमण गरी खराब ’लो डेनसिटि लिपोप्रोटिन’ अर्थात् एलडिएल कोलेस्ट्रोललाई रक्तनलीमा जम्मा हुन दिंदैन ।
अनुसन्धानकर्ताहरूले त्यसरी प्रतिरोगी क्षमता बढाउन वर्षेनी उक्त खोप लिन सकिने अवस्थाको कल्पना गरिरहेका छन् ।
मुसामा गरिएको अध्यनले उक्त खोपले १२ महिनामा एलडिएल कोलेस्ट्रोललाई ५० प्रतिशतसम्म घटाइदिएको र धमनीमा चिल्ला पदार्थहरू जम्मा हुन समेत नदिएको जस्तो देखिएको वैज्ञानिकहरू बताउँछन् ।
कोलेस्ट्रोल रगतमा पाइने चिल्लो पदार्थ हो ।
उक्त पदार्थ शरीरका लागि आवश्यक छ तर एलडिएल अर्थात् खराब कोलेस्ट्रोलको मात्रा रगतमा हुँदा त्यसले मानिसहरूमा हृदयसम्बन्धी रोगहरूको जोखिम बढाउँछ ।
अर्कोतर्फ हाई डेनसिटि लिपोप्रोटीन (एचडीएल) कोलेस्ट्रोल शरीरका लागि उपयोगी मानिन्छ ।
एचडीएलले रगतमा रहेका अन्य प्रकारका कोलेस्ट्रोलहरूलाई कलेजोसम्म लैजान मद्दत गर्छ जहाँ त्यसलाई अझ टुक्र्याउन सकिन्छ।
कतिपय व्यक्तिहरूमा आनुवंशिक कारणले उच्च कोलेस्ट्रोलको समस्या देखिने गरेको छ ।
कम पोषणयुक्त खाना, अत्यधिक मदिराको सेवन, धुमपान र अल्छेपनले उच्च कोलेस्ट्रोलको समस्या देखिने गरेको बताइन्छ ।
कोलेस्ट्रोल उच्च भएका व्यक्तिहरूले त्यसलाई घटाएर हृदयसम्बन्धी रोगको जोखिम न्यूनीकरणका लागि स्टाटिन्स नामक चक्की सेवन गर्न सक्छन् ।
ती चक्कीहरू एकदमै सस्तो र प्रभावकारी भएपनि सबैमा त्यसले काम गर्दैनन् । कतिपय मानिसहरू दैनिक रूपमा औषधि सेवन गर्न चाहंदैनन् र कतिले ठीक भइसक्यो भनेर औषधि खान नै बिर्सन्छन् ।
आक्कल झुक्कल अवस्थामा औषधिको नकारात्मक असर समेत देखिएको पाइएको छ ।
अनुसन्धानकर्ताहरूले त्यही भएर वैकल्पिक उपचार विधिको पछिल्लो प्रयास अघि बढाएका हुन् ।
पहिलो चरणमा ७२ जना स्वयंसेवकमा गर्न लागिएको परीक्षण यसै वर्षको अन्त्यसम्ममा सकिने ठानिएको छ ।
अहिलेसम्म भनिए अनुसारको खोपको प्रयोगबाट मधुमेहको जोखिम बढ्न सक्ने देखिन्छ ।
त्यही भएर अनुसन्धानमा संलग्न रहेका मेडिकल युनिभर्सि्टि अफ भियनाका वैज्ञानिकहरूले यो विषयमा विशेष ध्यान दिएर अघि बढ्ने बताइएको छ ।
युनिभर्सिटी अफ सेफिल्डका हृदयरोग विशेषज्ञ डाक्टर टिम चिको भन्छन्,‘यो अवधारणाले मानिसमा काम गर्छ कि गर्दैन भनेर प्रमाणित गर्न धेरै प्रश्नहरूको उत्तर आउन बाँकी नै छ तर अहिलेसम्म उच्च कोलेस्ट्रोलले हृदयसम्बन्धी रोगहरूको जोखिम बढाउने पुष्टि भइसकेको छ। त्यही भएर सबैले स्वस्थ्य जीवनशैली अपनाउनु धेरै महत्वपूर्ण रहेको छ ।’
ब्रिटिश हार्ट फाउन्डेशनका प्राध्यापक निलेस सामनी भन्छन्, ‘कोलेस्ट्रोलको तह व्यवस्थापनका लागि नयाँ उपचारका विधिहरू विकास गर्नु एकदमै महत्वपूर्ण छ । मुसामा मात्र परीक्षण गरिएको भएपनि यो नयाँ खोपले उच्च कोलेस्ट्रोल नियन्त्रणमा सघाउ पुर्याएर अन्ततः मानिसहरूमा हृदय रोगको जोखिम नै कम गराउन सक्छ ।’ बीबीसी

The post मुसामा सफल भएपछि मान्छेमा हृदयघात घटाउने खोपको परिक्षण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles