काठमाडौं, ६ असार । नेपालमा बितेको २४ घण्टामा थप २,४४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
पछिल्लो २४ घण्टामा १०,९५६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । तीमध्ये ४,२४९ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।
सो अवधिमा ३,४५६ जना सङ्क्रमणमुक्त भएको पौडेलले आइतबार अपराह्ण मन्त्रालयद्वारा गरिने मिडिया ब्रिफिङमा जानकारी दिए ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या छ लाख ४७ हजार नाघेको छ भने मृतकको सङ्ख्या ८,७२६ पुगेको छ।
“अहिले ४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। अहिले १७ जिल्लाको सङ्क्रमण बढ्दो क्रममा र अन्यमा घट्दो क्रममा रहेको छ,’ प्रवक्ता पौडेलले भने ।
अहिले कुल ५५,५३२ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये ३,६९९ जना संस्थागत आइसोलेशनमा रहेको पनि उनले जानकारी दिए ।
उनका अनुसार अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित रहेका १० जिल्लाहरू क्रमशः काठमाडौं, ललितपुर, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, चितवन, धनुषा, सुनसरी र काभ्रे रहेको छ।
अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै रहेका छन् । आइतबार पुष्टि भएकामध्ये सबैभन्दा धेरै ४५० जना काठमाडौंका रहेका छन्।
मन्त्रालयका अनुसार भक्तपुरमा २५ र ललितपुरमा ५३ जना सङ्क्रमित थपिएका छन्। मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ८७१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २५० जना भेन्टिलेटरमा छन्।
The post थप ५१ जना कोरोना संक्रमितको मृत्यु appeared first on Sajha Post.