काठमाडौं, १४ वैशाख । निजी ल्याब सञ्चालकहरुले सरकारले पाँच वटा निजी अस्पताल आधारित प्रयोगशालालाई मात्रै विदेश जाने प्रयोजनको लागि हुने कोभिड पीसीआर परीक्षणको अनुमति दिईएको भन्दै गुनासो पोखेका छन् । त्यस्तै उनीहरुले तत्काल उक्त सिण्डिकेट खारेजीको माग गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले कोरोनाका बेला सरकारले सबैसंग सहकार्य गर्नुपर्ने पनि बताएका छन् । सेन्ट्रल डायग्नोष्टिक ल्याब्रोटरी एण्ड रिसर्च सेन्टर, कमलपोखरीका कन्सल्ट्यान्ट एक्सपर्ट डा. विष्णु उपाध्यायले सरकारले सिमित निजी ल्याबहरुलाई मात्रै विदेश जाने प्रयोजनको लागि पीसीआर परीक्षण गर्न दिएको अनुमति खारेज गर्नुपर्ने बताए ।
सीमित अस्पतालहरुलाई मात्रै परीक्षणको अनुमति दिँदा ती अस्पतालमा अत्यधिक चाप बढेको पनि उनको तर्क थियो ।
त्यस्तै, ल्याब सञ्चालक तथा जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले सरकारले के आधारमा यस्तो निर्णय गरेको भन्दै गुनासो गरे । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकोले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनको सुझाव छ ।
डा. दिक्षितले अब नेपालमा परीक्षण बढाउनुपर्ने, भ्याक्सिन लगाउनुपर्ने पनि सुझाव दिए ।
The post कोरोनाको बेला सरकारले सबैसँग सहकार्य गर्नुपर्छः ल्याब सञ्चालक appeared first on Sajha Post.