तनाव बढ्दा मधुमेहसमेत बढ्ने हुनाले यसको नियन्त्रण अति आवश्यक हुन्छ । त्यसका लागि योगा, ध्यान गर्न सकिन्छ । एकान्तमा नबस्ने, साथीभाइसँग घुम्ने, बोल्ने गरेर पनि नियन्त्रण गर्न सकिन्छ । रातमा निद्रा परेन भने चिकित्सकको सल्लाह लिएर औषधि सेवनसमेत गर्न सकिन्छ ।
सुर्तीजन्य पदार्थको प्रयोगले मधुमेहको समस्या देखिने र देखिइसकेकालाई झन्–झन् बढाउँदै लैजाने भएकाले यसको प्रयोग नगरौँ । त्यस्तै, मदिराजन्य पदार्थको अधिक सेवनले पनि मधुमेह हुने र भइसकेकालाई बढ्ने भएकाले यसको प्रयोगमा निषेध ल्याउन जरुरी छ ।
मधुमेहका लागि सन्तुलित भोजन गरौँ । प्राकृतिक रेसायुक्त भोजन गरौंँ । त्यो भनेको दुई मुठी अन्न, तीन–चार टुक्रा मासु, दाल, दूध, दही, गेडागुडी र नुन कम हालेको फाइबरयुक्त तरकारी खाने । भोकै नबस्ने, दैनिक चारपटक खाने, तर थोरै–थोरै ।
सकभर मासु नखाएको राम्रो । खानै परे रातो मासु नखाने, त्यसको सट्टा सेतो मासु अर्थात् कुखुरा र माछा मात्र खाने । माछामासुभन्दा रेसायुक्त सागसब्जी खानु राम्रो । त्यस्तै चिप्स, कुकिज, बिस्कुट, कोक–फेन्टालगायत पदार्थको सेवन नगर्ने वा नियन्त्रण गर्ने ।
मधुमेहका लागि तौल नियन्त्रणमा राख्नु महत्त्वपूर्ण उपाय हो । अधिक तौल वा मोटोपनाले मधुमेह हुने सम्भावना हुन्छ । तौल आफ्नो उचाइअनुसार हुनुपर्छ । आफ्नो उचाइ सेन्टिमिटरमा नाप्ने र त्यसमा एक सय घटाउने । बाँकी जति रहन्छ, त्यतिबराबर तौल हुनुपर्छ । त्यस्तै, मोटोपनामा नाइटोदेखि गोलाइ नाप्दा पुरुषको ९० सेमि र महिलाको ८० सेमिभन्दा बढी हुनुहुँदैन ।
गर्भावस्थामा कुपोषण भएमा जन्मने बच्चा र आमालाई समेत मधुमेहले समाउँछ । त्यसैले, गर्भावस्थामा पोषिलो पौष्टिक आहार अनिवार्य छ । हरियो सागपात, गेडागुडी, फलफूल, दूध, दहीलगायत खानेकुरा प्रशस्त खुवाऔँ । तर, फेरि गर्भावस्थामा अधिक मोटोपना पनि हानिकारक हुन्छ । त्यसैले सन्तुलित रूपमा रहौँ ।
The post मधुमेहबाट जोगिन यसो गर्नुहोस् appeared first on Sajha Post.