काठमाडौं, १६ पुस । आज डिसेम्बर ३१ तारिख, विश्वमा पहिलो पटक कोरोना भाइरस फेला परेको दिन । चीनको हुवेइ प्रान्तस्थित वुहान शहरमा आजकै दिन कोरोना भाइरसको सङ्क्रमण फेला परेको भनेर बुझिन्छ ।
हुन त हालसम्म यसको उत्पति कहिलेदेखि भएको हो भन्ने विषयमा कुनै तथ्य फेला परेको छैन । तर, विभिन्न अध्ययन अनुसन्धानमा वुहानमा देखिनुभन्दा पहिले नै कोरोना भाइरस पृथ्वीमा रहेको बताइएको छ । अझै यस विषयमा अध्ययन हुन बाँकी छ ।
सन् २०१९ को डिसेम्बर ३१ मा पहिलोपटक चीनको वुहानमा कोरोना भाइरसको सङ्क्रमण देखिएको र पछि महामारीको रुपमा परीणत भएको हो । चीनको वुहान हुँदै मध्यपूर्वी मुलुक इरान, युरोपीय मुलुक इटली हुँदै विश्वभर नै फैलियो ।
हालसम्मको तथ्याङ्क हेर्ने हो भने कोरोनाका कारण ८ करोडभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने १८ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । जबकी कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ५ करोड ८८ लाखभन्दा बढी स्वस्थ भइसकेका छन् । हिजोसम्म विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ करोड ३० लाख ४३ हजार ६ सय १४ पुगेको छ ।
पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख ९८ हजार ३ सय ९६ नयाँ सङ्क्रमित थपिएका छन् ।
यस्तै हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये झन्डै ५ करोड ८८ लाख ५० हजार ९ सय ८८ जना स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ९७ प्रतिशत हो । हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड २३ लाख ८१ हजार ८ सय ८३ रहेको छ ।
बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेसँगै पुनः अर्को आतंक थपिएको छ । यो भाइरस पनि संसारभर फैलनेक्रममा रहेको छ ।
The post आज कोरोना भाइरस फेला परेको एक वर्ष पुग्यो, १८ लाखभन्दा धेरैको मृत्यु appeared first on Sajha Post.