Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोभिड-१९ को अन्तिम उपाय ‘हर्ड इम्युनिटी’ नै हो त ?

$
0
0

काठमाडौं, ९ भदौ । कोरोना भाइरसबाट उत्पन्न कोभिड-१९ महाव्याधिको समस्याले ७ महिना पुरा गरेको छ । कोभिड-१९ को समस्या गत वर्षको अन्तिम महिना डिसेम्बरमा चीनको वुहानबाट देखियो । फेब्रुअरीसम्म यसलाई चीनको समस्या ठानिएको थियो तर, मार्चपछि भने कोभिड-१९ विश्वव्यापी बन्यो । आज चीनको भन्दा अरु दर्जनौ देशमा यसले धेरै क्षति गरिसकेको छ ।

कोरोना-१९ को नियन्त्रणबारे प्रारम्भदेखि नै फरकफरक धारणा थिए ।

पहिलो उपाय- कतिपयले अन्तर्राष्ट्रिय आवागमन निषेध र लकडाउन विधिबाट संक्रमण नै हुन नदिने तरिका सुझाए । ढिलो लकडाउन गरेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्प, बेलायती प्रधानमन्त्री बोरिस जोहन्सन, ब्राजिली राष्ट्रपति जायर बोल्सोनारोजस्ता शासकहरुको चर्को आलोचना भयो तर नेपाल र भारतजस्ता अर्ली लकडाउन गरिएका देशमा लकडाउनकै बीचमा संक्रमण तीव्र भयो । लकडाउन कोभिड-१९ लाई समाप्त गर्न सकिने विधि हैन रहेछ भन्ने पुष्टि भयो ।

दोस्रो उपाय– स्वास्थ्य मापदण्ड कठोर पालना, स्वास्थ्य उपचारको समुचित व्यवस्था, क्वारेन्टिन, आइसोलेशन वार्ड, आइसियु र भेन्टिलेटरको व्यवस्था मानियो । स्वास्थ्य मापदण्ड सबैले एकसाथ उत्तिकै लागू गर्ने सम्भावना देखिएन । प्रशासनिक प्रयासले मात्र मानिसलाई नयाँ प्रकारको जीवनशैली र बानीव्यहोरा लगाउन सजिलो भएन । स्वास्थ्य सेवाहरु भने मानवीय क्षति कम गर्न उपयोगी सिद्ध भएका छन् ।

कोरोनाको प्रारम्भिक अवधिमा २२ प्रतिशत रहेको निको–निधन अनुपात निरन्तर कम हुँदै ५ प्रतिशतमा झरेको छ । तर कोरोनाको औषधि अहिलेसम्म पत्ता नलागेको हुँदा स्वास्थ्य सेवा र उपचार विधिबाट पनि कोरोनाको अन्त्य हुने आशा गर्न सकिन्न ।

तेस्रो विधि– खोप हो । प्रारम्भदेखि नै विभिन्न देशहरुले खोप अनुसन्धान गरिरहेको बताए तापनि रुसको बाहेक अरु देशले बनाएको खोप अहिलेसम्म विश्वासनीय मानिएको छ । रुसले प्रारम्भिक खोप अभियान शुरुवात गरेको बताइन्छ तर यसको प्रभावकारिता कस्तो हुने हो, हेर्न बाँकी नै छ ।

रुसको आफ्नै करिब १४.५ करोड जनसंख्या छ । रुसी खोप स्पुतनिक-भी सफल भए नै पनि आफ्नै देशमा खोप अभियान सम्पन्न गर्न कम्तिमा एक वर्ष लाग्ने बताइन्छ । साँघुरो राष्ट्रवादी सोच हावी भएको समकालीन विश्वमा शक्तिशाली देशहरु बीच ‘खोप युद्ध’ चलिरहेको छ । अर्कोतिर अमेरिकाको बर्हिगमनपछि विश्वस्वास्थ्य संगठन कमजोर भएको छ । यस्तो अवस्थामा विश्वव्यापी रुपमा खोपको उपलब्धता हुन कति समय लाग्ने हो कुनै टुंगो छैन ।

त्यसो भए के ‘हार्ड इम्युनिटी’ नै कोरोना प्रतिरोध गर्ने अन्तिम उपाय हो त ? दिल्लीमा गरिएको एक सर्वेक्षण अनुसार पछिल्लो ३ महिनामा करिब ३०% मानिसका कोरोना एन्टीबडी निर्माण भइसकेको छ । अर्थात् कोरोना भाइरसको संक्रमण जति बढदै छ, हर्ड इम्युनिटी पनि उत्तिकै विस्तार हुँदैछ ।

अल इन्डिया इस्टीच्युट अफ मेडिकल साइन्सका डाक्टर उमाकुमारका अनुसार जब कुनै देशमा ६० देखि ७० प्रतिशत मानिसका एन्टीबडी वा हर्ड इम्युनिटी निर्माण हुन्छ, कोरोना संक्रमणको चक्र आफै कमजोर हुनेछ ।

के हो हर्ड इम्युनिटी ?

जनसंख्याको अधिकांश हिस्सामा कोरोना प्रतिरोध क्षमता विकास हुनुलाई हर्ड इम्युनिटी भनिन्छ । जब करिब ७० प्रतिशत मानिसमा रोग प्रतिरोध क्षमता विकास हुन्छ, कोरोना एक अर्कामा संक्रमण हुने वा संक्रमण भएर पनि हानी गर्ने सम्भावना घट्दछ । प्राकृतिक रुपमा नै कोरोना कमजोर हुन्छ र मान्छे बलियो हुन्छ ।

हर्ड इम्युनिटीपछि भाइरस संक्रमणको श्रृंखला छिन्छ । संक्रमण दर न्युन हुन्छ । संक्रमितको पनि ठूलो संख्याका रोगको लक्षण नै नदेखिइन भाइरस प्रभावहीन हुन्छ । रोगको लक्षण देखिएकाहरुका पनि मृत्युको संभावना निक्कै कम हुन्छ । संक्रमित नभएकाहरुको संक्रमित हुने जोखिम कम हुँदै जान्छ ।

हर्ड इम्युनिटी बनाउने दुई वटा तरिका हुन्छन ।

एक- प्राकृतिक तरिका, जो आफैं भइरहेको हुन्छ । जनसंख्याको जवान र स्वास्थ्य हिस्सामा पत्तै नपाइकन कोरोना पचाउने क्षमता विकास भइरहेको हुन्छ ।

अर्को- कृत्रिम तरिका जसको लागि बाहिरबाट केही दिनु पर्ने हुन्छ । त्यसरी दिइने सबैभन्दा भरपर्दो चिज खोप हो । तर, खोप उपलब्ध नभएको अवस्थामा अन्य चिजहरुमार्फत् पनि हर्ड इम्युनिटी बढाउने प्रयत्न गर्नु पर्दछ ।

डा. उमाकुमारका अनुसार कोरोना भाइरस पहिलो भाइरस हैन, यस अघि नै अरु कुनै भाइरससंगको लडाइ र प्रतिरोधले पनि मानिसमा एन्टीबडी बनेको हुन सक्दछ । त्यस्ता मान्छे आफैं हर्ड इम्युनिटीको अवस्थामा हुन्छन । यस्ता मानिसका कोरोना संक्रमित भएर पनि कुनै असर पर्दैन ।

हर्ड इम्युनिटीको प्रक्रिया पुरा हुन कति समय लाग्छ ? त्यो भने अहिलेसम्म कसैले बताउन सकेको छैन । समय कति लाग्दछ, त्यो महत्वपूर्ण हुँदैन । महत्वपूर्ण पाटो कति समयमा करिब ७० प्रतिशतमा भाइरस प्रभावहीन हुन्छ भन्ने हुन्छ ।

हर्ड इम्युनिटीको अवस्थामा सृजना भएपछि भाइरसले संक्रमति हुन नयाँ मान्छे पाउन छोड्छ, अन्ततः भाइरस आफै सीमित हुँदै समाप्त हुन्छ । तर हर्ड इम्युनिटी क्रियाशील नहुन्जेल जुन अवधि हुन्छ, त्यो अवधिमा मानवीय जीवन जोखिममा हुन्छ । तर कतिपय वैज्ञानिकहरुका अनुसार हर्ड इम्युनिटी क्रियाशील हुन ७०% मा हैन, ५०% बढी जनसंख्यामा भाइरस प्रतिरोध क्षमता बनिसक्दा संक्रमण श्रृंखला टुट्न सक्दछ ।

खोप उपलब्ध नभएको अवस्थामा हर्ड इम्युनिटी बढाउने तरिका भने खानपान, स्वास्थ्य सतर्कता र जीवनशैली नै हो । अहिले रोग प्रतिरोध क्षमता कसरी बढाउने भनेर जानकारी दिने थुप्रै भिडियो र स्वास्थ्य सामाग्रीहरु प्रकाशन, प्रशारण भइरहेका छन् । ती सबै ठीक छन् भन्ने विश्वास गर्न भने सकिन्न । आधिकारिक व्यक्ति वा स्वास्थ्यविद्हरुले दिएको शिक्षा तथा सचेतनामुलक सामग्रीहरुमा मात्र विश्वास गर्न सकिन्छ ।

कोभिड–१९ को महाव्याधि विरुद्धका अन्य उपायहरु कमजोर भइरहेका वेला सबैले आआफ्नो स्वास्थ्य स्थितिबारे चिन्तन, परामर्श गर्ने र इम्युनिटी पावर बढाउने प्रयत्न गर्नु उचित हुन्छ । फरकफरक स्वास्थ्य स्थितिका व्यक्तिहरुको इम्युनिटी बढाउने तरिका फरकफरक हुन सक्दछ । सबैलाई एकप्रकारको खानपिन र उपाय प्रभावकारी नहुन सक्दछ । यो पक्षलाई पनि ध्यान दिनु पर्ने हुन्छ । अन्ततः यही उपाय नै सबैभन्दा बढी प्रभावकारी हुन सक्दछ ।

एजेन्सीहरुको सहयोगमा ।

The post कोभिड-१९ को अन्तिम उपाय ‘हर्ड इम्युनिटी’ नै हो त ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles