पानी मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण तत्वमध्येको एक हो । पानीबिना जीवनको कल्पनासम्म पनि गर्न सकिदैँन । मानिसको शरीर पनि ७२ प्रतिशत पानीले नै बनेको हुन्छ ।
हाम्रो शरीरमा पानीको कमी हुनेबित्तिकै हामीलाई प्यास लाग्न थाल्छ । यो एक सामान्य प्रक्रिया नै हो । धेरै काम गरेपछि, थकाई लागेको बेला वा गर्मीका बेला शरीरले बढी नै पानीको माग गर्दछ । तर तपाईंलाई पानी पिएर पनि प्यास नमेटिने वा असामान्य तरिकाले बारम्बार प्यास लागिरहने गर्छ भने त्यो एकप्रकारको रोग हुन सक्छ ।
आउनुहोस् त्यही रोगको लक्षण र त्यसबाट बच्ने उपायहरुका बारेमा चर्चा गरौं ।
अधिक प्यास लाग्नु भनेको के हो ?
अधिक प्यास लाग्ने समस्यालाई ‘पोलिडिप्सिया’ पनि भनिन्छ । यो रोग लागेका मानिसहरुलाई जति पानी पिउँदा पनि प्यास नमेटिने समस्या हुन्छ । घरमा केही काम नगरी बसिरहेको अवस्थामा पनि व्यक्तिलाई हदभन्दा बढी प्यास लाग्न सक्छ । यो रोग लागेका व्यक्तिहरुलाई मभूमेह हुने सम्भावना पनि रहेको हुन्छ ।
यसका लक्षणहरु केके हुन् ?
- पानी पिउन मन लागिरहनु
- पानी पिइरहे पनि प्यास नमेटिनु
- तिर्खाले मुख सुक्नु
- मुखबाट निस्कने थुक बाक्लिनु
यसका बाबजुद शरीरमा पानीको कमी छ भने यी लक्षणहरु पनि देखिन सक्छन् :
- पसिना कम आउनु
- पिसाब कम लाग्नु
- आँखाबाट आँसु कम आउनु वा नआउनु
- कमजोर महसुस हुनु
- मांशपेशी दुख्नु
अधिक प्यास लाग्नुको कारणहरु केके हुन् ?
- शरीरमा पानीको कमी हुनु
- पर्याप्त मात्रामा पानी नपिउनु
- व्यायाम गर्दा धेरै पसिना आउनु
- चिया कफी अत्याधिक पिउनु
- धेरै नुन भएको वा मसालेदार खाना खानु
- धेरै गर्मी भएको ठाउँमा बसोबास हुनु
अधिक प्यास लाग्ने समस्याको समाधान के हुन सक्छ ?
यदि समस्या त्यति गम्भीर छैन भने डाक्टरहरुले सामान्य तरिकाबाटै यसको समाधान गर्न सक्छन् । यसका लागि बिरामीहरुलाई खानपानसँग सम्बन्धित सल्लाह दिइने गरिन्छ भने केही औषधिहरु पनि दिइने गरिन्छ ।
तर समस्या यदि गम्भीर छ भने अरु नै केही रोगका कारणले प्यास लाग्ने समस्या बढेको हुन सक्छ । त्यसका लागि चिकित्सकहरुले सम्बन्धित रोगको आवश्यक उपचार गरी औषधि सेवन गर्न सल्लाह दिन्छन् जसले गर्दा अधिक प्यास लाग्ने समस्या पनि विस्तारै कम हुँदै जान्छ ।
The post धेरै तिर्खा लाग्नु पनि एउटा रोग हुनसक्छ, यस्ता छन् लक्षण र समाधानका उपायहरु appeared first on Sajha Post.