लण्डन, ११ साउन । बेलायती विशेषज्ञहरुले मोटा र बढी तौल भएका मानिस कोरोना संक्रमणमा परेपछि गम्भीर बिरामी हुने र उनीहरुको मृत्यू समेत हुनसक्ने सम्भावना बढी हुने बताएका छन् ।
बेलायतको स्वास्थ्य विभागलाई उद्धृत गर्दै बीबीसीमा प्रकाशित खबरका अनुसार मोटा र धेरै तौल भएका मानिसलाई कोरोना संक्रमण भइहाले उनीहरुलाई आइसियु र भेन्टिलेटरसम्मको आवश्यकता बढी हुन्छ ।
विज्ञहरुका अनुसार जति मोटोपन र तौल बढी हुन्छ, त्यति यो खतरा बढी हुन्छ ।
पब्लिक हेल्थ इङ्गल्याण्डकी प्रमुख पोषणविद डा. एसलिसन टेडस्टोनका अनुसार तौल बढेपछि अन्य रोगहरुका साथै कोभिड-१९ संक्रमणबाट पनि गम्भीर बिरामी र मृत्यूको खतरा बढ्छ ।
उनले भनिन्, ‘तौल कम गर्नाले स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । यसले कोभिड-१९ को खतरा पनि कम हुन्छ ।’
बेलायत सरकारले देशमा मोटोपन घटाउने प्रयासलाई अगाडि बढाइरहेको छ । सरकारले यसबारे केही कार्यक्रम घोषणा गर्ने अनुमान गरिएसँगै पब्लिक हेल्थ बेलायतले यस्तो जानकारी सार्वजनिक गरेको हो ।
युरोपमा बेलायत यस्तो देश हो जहाँ अत्यधिक मोटोपन भएका मानिसहरु छन् । त्यहाँका बयस्कहरुमा दुई तिहाई मानिस या त मोटो छन् या तौल चाहिनेभन्दा बढी छ । यो समस्या वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा ज्यादा छ ।
The post मोटा मानिसहरुलाई कोरोना भाइरसको जोखिम ज्यादा appeared first on Sajha Post.