काठमाडौं, ३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुनेको दर दोब्बर बढी देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३३१ पिसिआर परीक्षण भएकोमा केवल ५७ जनामा संक्रमण देखिएको हो ।
यता बितेको २४ घण्टामा निको हुनेको संख्या १०३ रहेको छ । यो संक्रमित हुनेभन्दा झण्डै दोब्बर संख्या हो । कुल संक्रमितको संख्या र निको हुने संख्या तुलना गर्दा भने निको हुने दर ६६.५ रहेको छ ।
विगत २४ घण्टामा भने मृतकको संख्या शून्य रहेको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४० पुगेको छ ।
शनिबारसम्म नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।
शनिबारसम्म २३ हजार २७५ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ३३१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म ३ लाख ११ हजार ८२९ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ छ । चर्काे विराेध हुन थालेपछि अहिले आरडिटी परीक्षण गर्न भने बन्द गरिसकिएकाे छ ।
The post कोरोना संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर appeared first on Sajha Post.