Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

जिका भाइरसको परीक्षण नेपालमै सम्भव हुने

$
0
0

Zika Virusकाठमाडौं, ७ चैत । दक्षिण अमेरिकामा महामारीको रुप लिएको जिका भाइरसको परीक्षण अब नेपालमै हुने भएको छ । एडिस नामक लामखुट्टेको टोकाइबाट हुने जिका भाइरसको नेपालमा पनि जोखिम रहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई जिका भाइरस परीक्षण गर्न ‘पिसिआए किट’अर्थात् पोलिमर चेन रियाक्सन उपलब्ध गराएपछि नेपालमै परीक्षण गर्न सकिने भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.गीता शाक्यले सङ्गठनले नेपाललाई भाइरस जाँचका लागि एक हजार किट उपलब्ध गराएको जानकारी दिइन् । उनले भनिन्, ‘पन्ध्र दिनअघि परीक्षण किट नेपाल आइपुगेको छ, अहिलेसम्म परीक्षणका लागि नमुना भने आएको छैन तर भाइरस भएको शङ्काको अवस्थामा परीक्षण नेपालमै गर्न सम्भव छ ।’ डा. शाक्यले डेङ्गु र चिकनगुनिया पनि जिका हुने लामखुट्टेबाट नै हुने भएकाले पहिले ती दुई रोगको परीक्षण गरेपछि जिका भाइरसको परीक्षण गरिने बताइन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले नेपालमा पनि विभिन्न मुलुकका मानिस आवतजावत गर्ने भएकाले समयमै सुरक्षा अपनाउन आवश्यक भएको बताए ।

नेपाल तथा स्वास्थ्य सङ्गठन समेतले जिका भाइरसको सङ्क्रमण देखिएका ल्याटिन अमेरिकी मुलुकमा रहेका नेपाली गर्भवतीलाई अत्यावश्यक काम परेको अवस्थामा बाहेक जोखिमयुक्त मुलुकमा नबसी नेपाल फर्कन वा अन्यत्र बसाइँ सर्न नेपाली दूतावासमार्फत आग्रह गरिसकेको छ । सकेसम्म अमेरिका लगायत सङ्क्रमण देखिएका मुलुकमा गर्भ परीक्षण समेत नगराउन आग्रह गरिएको छ ।

रोग नियन्त्रण महाशाखाले सम्पूर्ण चिकित्सकलाई सानो टाउको भएको शिशु जन्मेमा वा एक्कासि लुलो हुने (गुलेनबारे सिन्ड्रोम) देखिएमा तत्काल खबर गर्न आग्रह गरिसकेको छ ।

गर्मी बढेसँगै लामखुट्टेको टोकाइबाट बच्न मरासिनीले आग्रह गरे । उनले भने, ‘जिका मात्र होइन अन्य धेरै रोग पनि लामखुट्टको कारण हुने भएकाले यसबाट बच्ने उपाय आजैदेखि अवलम्बन गर्नु आवश्यक छ ।’ महाशाखाले जिकाबारे जनचेतनामूलक कार्यक्रम पनि गर्न लागेको छ । सो भाइरस प्राणघातक नभए पनि यसले गर्भवतीलाई भने प्रत्यक्ष असर पुर्याउँछ । भाइरस गर्भवतीमा सरेमा गर्भवतीले जन्माएको शिशुको टाउको जन्मजात सानो हुने, बच्चा सुस्तःमनस्थितिको हुने जस्तो समस्या देखिन्छ ।

सन् १९४७ मा युगान्डामा बाँदरमा भेटिएको सो भाइरस सन् १९५४ मा पहिलो पटक मानिसमा देखिएको हो । लामो समयसम्म सो भाइरस अन्य व्यक्तिमा नदेखिए पनि सन् २०१५ मा ब्राजिलमा देखिएसँगै महामारीका रुपमा २४ देशमा फैलिसकेको छ । कल्पना पौडेल/रासस

The post जिका भाइरसको परीक्षण नेपालमै सम्भव हुने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles